समाचार
तमानखोला गाउँपालिकाको संक्षिप्त परिचय
तमानखोला गाउँपालिकाको नामाकरण यस क्षेत्रकै ठूलो नदी तमानखोलाको नामबाट नामाकरण गरिएको हो । तमान बस्तीलाई आधार मानेर विगतमा तमान गा.वि.स. रहन गएको थियो । यस तमानखोला गाउँपालिका नेपालको संविधान २०७२ अनुसार राज्यको पुर्नसंरचना हुंदा ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन भए अनुसार यस तमानखोला गाउँपालिका बागलुङ जिल्ला, गण्डकी प्रदेशमा पर्दछ । नेपाल सरकारले मिति २०७३।११।२० को निर्णायानुसार देहाय बमोजिम साबिकका गा.वि.स. तमान, बोंङ्गादोभान र खुंखानी गरी ३ वटा गा.वि.स. कायम गरी यो गाउँपालिका बनेको हो । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङबाट १० किलोमिटर टाढा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल १७८.०२ वर्ग कि.मी रहेको छ । यस तमानखोला गाउँपालिकाको जनसंख्या २०७८ को जनगणना अनुसार ९,९८२ रहेको र घरधुरी संख्या २,६११ रहेको छ ।
भौगोलिक र सिमाना स्थिति :
तमानखोला गाउँपालिका भौगोलिक हिसाबले समुन्द्री सतहबाट १,२३२ मिटरदेखि ३,८३६ मिटरसम्मको उचाई रहेको छ । यस तमानखोला गाउँपालिकाको सिमाना पुर्वमा म्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन सिकार आरक्ष, उत्तरमा धौलागिरी गाउँपालिका र दक्षिणमा ढो.न.पा–३ पर्दछ । गाउँपालिका ८३°१०′ पुर्वी देशान्तर दखि ८३°१८′ पुर्वी देशान्तर २८°२१′ उत्तरी अक्षांश २८°३०′ उत्तरी अक्षांशसम्म फैलिएको छ ।
जलवायु :
समुन्द्र सतह देखि ३,८३६ मिटरसम्मको उचाईमा रहेको तमानखोला गाउँपालिका क्षेत्रमा औषत तापक्रम आद्रतायुक्त जलवायु भएको पाइन्छ । यहाँ पुष, माघ महिनामा सबैभन्दा बढी जाडो हुने गरेको र सो समयमा यस पालिकाको सोलेडाँडा, नौडल्ले पहाड रमणीय सुन्दर ठाउमा हिउँले भरिएको हुन्छ र सो समयमा न्युनतम तापक्रम ० डिग्री सेल्सीयससम्म पुगेको छ भने बैशाख, जेष्ठ र आषाढ महिनामा २८ डिग्री सम्म पुग्ने गर्दछ साथै वर्षा वार्षिक औषत १५० मि.लि. सम्म हुने गरेको छ ।
तमानखोला गाउँपालिका धार्मिक तथा ऐतिहासिक स्थान तथा संस्कृतिहरु :
• बराह थान ( वराह मन्दिर • भैरव थान • देवी थान • ओडान थान • भुमे थान • खड्ग थान • देउतेनी थान • शिव मन्दिर • कोत घर • लक्ष्मी मन्दिर • धानपाती मण्डली • मण्डली थान मन्दिर • शोलेको डाँड • देउराली डाँडा, दोवारेको झरना • अङकुत्ते देउराली • नोडल्ले पहाड • भित्री वन • बराहताल • झयाउरे नाच र सोरथी नाच • राङगुली देउराली
मुख्य नदी तथा खोलाहरु :
• तमानखोला
• बोङ्गाखोला
• स्याउलाखोला
जातजाति
यस पालिकाको जनसंख्या वि.सं.२०७८ को जनगणना अनुसार यस तमानखोला गाउँपालिकामा बसोबास गर्दै आएका मुख्य जातजातिहरुमध्ये अधिकाशं दलित र आदिवासी जनजातिको बसोबास रहको छ । प्रतिशतको हिसाबमा दलितको ५७.९%, जनजाति ३८.७%, व्राह्मण र क्षेत्री २.९%, थकाली ०.१%, सन्यासी र दसनामी ०.१% र अन्य ०.४% रहेको छ । ब्राह्मण, क्षेत्री जातिको बसोबास वडा नं. २ को सिल्गुम क्षेत्र र केही मात्रामा वडा नं. १ मा बाहेक अन्य वडामा शुन्य रहेको छ ।
मातृभाषा अनुसार जनसंख्याको संरचना :
तमानखोला गाउँपालिकामा बसोबास गर्ने बासिन्दाहरुको बोलीचालीको मूख्य भाषा नेपाली रहेको छ । यस क्षेत्रमा विभिन्न जातजातिको बसोबास रहेपनि बोलीचालीमा अहिले नेपाली भाषा बाहेक अन्य भाषा खासै प्रचलनमा रहेको तथ्यांक फेला पार्न सकिएको छैन । छन्त्याल र मगर भाषा जानेका केही जनसंख्या भने रहेको पाइएको छ जो समुदायमा सो भाषा जानेका बिच बोलचाल गर्ने गरेका छन् ।
वि.सं.२०७८ को जनगणना अनुसार यस तमानखोला गाउँपालिकामा महिला ५,३८९ र पुरुष ४,५९३ जनसंख्या गरी कुल जनसंख्या ९,९८२ रहेको छ । यस गाउँपालिकाको नवगठित संरचना अनुसार वडा संख्या, क्षेत्रफल एवं वडागत रुपमा जनसंख्याको विवरण तलको तालिका अनुसार रहेको छ ।
तमानखोला गाउँपालिकाको विस्तृत विवरण
| क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
|---|---|---|---|---|
| १ | १ | बोङ्गादोभान(१-५) | २६७४ | २८.११ |
| २ | २ | बोङ्गादोभान(६-९) | २५६३ | ४९.८५ |
| ३ | ३ | तमान(१-६) | १६१२ | २०.७१ |
| ४ | ४ | तमान(७-९) | ९९३ | ११.३३ |
| ५ | ५ | खुङ्खानी(१-६) | १३३६ | १४.५४ |
| ६ | ६ | खुङ्खानी(७-९) | ८०४ | ५३.४८ |
| जम्मा | ९९८२ | १७८.०२ |
यस गाउँपालिकामा विभिन्न प्रकारका जडिबुटीहरु र ढुंगाको खानी भएको र यिनै प्राकृतिक साधन तथा श्रोतको उपयोग र पर्यटकीय तथा धार्मिक सम्पदा स्थलहरुको माध्यमवाट गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान पुग्ने देखिन्छ ।
